काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १४ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २८ गते बैंकिङ प्रणालीबाट १४ अर्ब रुपैयाँ बाहिरिएको हो । चैत २७ गते ६१ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २८ गतेसम्म भने ६१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । चैत २७ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २८ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा १३ अर्बले घटेको छ ।
यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले घट्दै ७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि घटेको छ । चैत २७ गते ५० खर्ब ९९ अर्ब रहेको कर्जा प्रवाह चैत २८ गतेसम्म भने १ अर्बले घटेर ५० खर्ब ९८ अर्बमा सीमित भएको छ । बैंकिङ प्रणालीको निक्षेप घटेसँगै सीडी रेसियो ८०.५८ प्रतिशतबाट बढेर ८०.७४ प्रतिशत पुगेको छ । बैंकहरुको अन्तर बैंक ब्याजदर पनि ३.२२ प्रतिशतबाट बढेर ३.२६ प्रतिशत पुगेको छ ।