काठमाण्डौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसममा बदली देखिएको छ ।
साथै, नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र तथा मध्य र पूर्वी भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको प्रभावसमेत सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै, अन्य पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
तराईका एक/दुई क्षेत्रमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
महाशाखाका अनुसार आज राति पनि देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

