काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्रीले सांसदहरूले उठाएका जिज्ञासा, आलोचना, सुझाव तथा संशयहरूको विस्तृत स्पष्टीकरण दिने कार्यक्रम तय गरिएको हो ।
राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि हाल प्रतिनिधिसभामा दफावार छलफल जारी रहेको छ ।
उक्त छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले आ–आफ्ना धारणा राख्दै सरकारको नीति तथा प्राथमिकता, आर्थिक दृष्टिकोण, विकास रणनीति, सुशासन, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा बजेट कार्यान्वयन क्षमताका विषयमा प्रश्न उठाइरहेका छन् ।
विभिन्न दलका सांसदहरूले केही नीति सकारात्मक भएपनि कार्यान्वयन पक्ष कमजोर हुन सक्ने भन्दै संशोधन र स्पष्ट कार्ययोजनाको माग गरेका छन् ।
केही सांसदहरूले भने नीति तथा कार्यक्रमलाई महत्वाकांक्षी र दीर्घकालीन विकास लक्ष्यसँग जोडिएको भन्दै समर्थन पनि जनाएका छन् ।
छलफल सकिएपछि प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई संशोधनसहित वा बिना संशोधन निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

सो निर्णयपछि आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाले औपचारिक रूपमा गति लिनेछ ।
त्यसैगरी आजको बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताहरू प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
यो विधेयक सरकारको वार्षिक बजेट निर्माणको आधार दस्तावेज भएकाले आर्थिक नीति र खर्च प्राथमिकता निर्धारणका दृष्टिले महत्वपूर्ण मानिन्छ ।
साथै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि पनि आजको बैठकमा विस्तृत छलफल हुने भएको छ ।
समितिले संसदीय प्रक्रिया थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन विभिन्न संशोधन र सुधार प्रस्ताव गरेको बताइएको छ ।
यसअघि हिजोको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको भन्दै खोजीको माग राख्दै बैठक अवरुद्ध गरेका थिए । सोही कारण बैठक केही समयका लागि स्थगित हुन पुगेको थियो ।

