काठमाण्डौं । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले देशका विभिन्न स्थानमा सुकुमबासी बस्तीहरूमा सञ्चालन भइरहेको भनिएको डोजर अभियान र बलपूर्वक विस्थापनको विरोधमा राजधानीमा खबरदारी कार्यक्रम गरेका छन्।
उनीहरूले राज्य र स्थानीय प्रशासनले सुकुमबासी समुदायमाथि दमनकारी व्यवहार गरेको आरोप लगाउँदै तत्काल यस्तो कार्य रोक्न सरकारसँग माग गरेका छन्।
माइतीघर मण्डलामा आयोजना गरिएको उक्त विरोध कार्यक्रममा ठूलो संख्यामा सुकुमबासी समुदायका प्रतिनिधि, अधिकारकर्मी तथा समर्थकहरू सहभागी भएका थिए।
प्रदर्शनकारीहरूले पछिल्लो समय विभिन्न जिल्लामा सुकुमबासी बस्तीहरूमा कुनै स्थायी विकल्प वा पुनर्वासको व्यवस्था नगरी डोजर चलाइएको र घरटहराहरू भत्काइएको भन्दै आक्रोश व्यक्त गरे।
उनीहरूको भनाइमा, राज्यले गरिरहेको भनिएको यो अभियान केवल अतिक्रमण हटाउने वा विकास कार्य नभई सीधै मानवीय संवेदनशीलताविपरीतको कदम हो।
प्रदर्शनकारीहरूले यसलाई “दमनकारी कार्य” भन्दै कडा आपत्ति जनाएका छन् र यस्ता गतिविधिले गरीब तथा भूमिहीन नागरिकहरूको जीवन अझ असुरक्षित बनेको दाबी गरेका छन्।
आन्दोलनरत पक्षले सरकार र स्थानीय निकायले समस्या समाधानको दीर्घकालीन र मानवीय विकल्प खोज्नुको सट्टा बल प्रयोगमार्फत सुकुमबासीहरूलाई जबर्जस्ती विस्थापित गर्ने नीति अपनाएको आरोप लगाएका छन्।
उनीहरूले यस्तो कार्यलाई “संस्थागत हत्या” को संज्ञा दिँदै तत्काल डोजर अभियान रोक्न र सुकुमबासीहरूको जिउधनको पूर्ण सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
कार्यक्रममा सहभागी सुकुमबासी अधिकारकर्मीहरूले भूमिहीन तथा सुकुमबासी नागरिकहरूको संवैधानिक अधिकार राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूले स्थायी बसोबासको व्यवस्था, वैकल्पिक आवास योजना र दीर्घकालीन समाधान बिना कुनै पनि प्रकारको बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताएका छन्।
माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नीति तथा व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।
उनीहरूले न्याय, सम्मान र सुरक्षित बसोबासको सुनिश्चितताका लागि निरन्तर दबाब सिर्जना गर्ने चेतावनीसमेत दिएका छन्।

