मंगलवार, श्रावण १९,२०८३ 02:18:10
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:18:10
Bizshala
Global IME Bank Limited

भारतमा इन्धनको मूल्य फेरि बढ्ने संकेत, कच्चा तेल १४० डलरसम्म पुग्नसक्ने

भारतमा इन्धनको मूल्य फेरि बढ्ने संकेत, कच्चा तेल १४० डलरसम्म पुग्नसक्ने
New Office

काठमाण्डौ । मध्यपूर्वमा चुलिँदै गएको भूराजनीतिक तनावका कारण भारतमा पेट्रोल–डिजलको मूल्य थप बढ्न सक्ने चेतावनी दिइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की पूर्व डेपुटी म्यानेजिङ डाइरेक्टर तथा हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक गीता गोपीनाथले भारतको अर्थतन्त्रलाई असर पार्नसक्ने तीन प्रमुख जोखिम औँल्याउँदै ‘ट्रिपल अलर्ट’ जारी गरेकी हुन् ।

भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले अमेरिका-ईरान तनाव लम्बिँदै गए ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने र त्यसको प्रत्यक्ष प्रभाव भारतजस्ता तेल आयातमा निर्भर मुलुकमा देखिने बताएकी छन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० अमेरिकी डलरसम्म पुग्न सक्ने जोखिम देखिएको छ ।

इन्धन मूल्य फेरि उकालो लाग्ने संकेत

भारतले आफ्नो ठूलो ऊर्जा आवश्यकता मध्यपूर्वबाट आयातित कच्चा तेलमार्फत पूरा गर्दै आएको छ । यही कारण होर्मुज स्ट्रेट क्षेत्रमा उत्पन्न तनावले भारतको इन्धन आपूर्तिमा प्रत्यक्ष दबाब सिर्जना गर्न थालेको विश्लेषण गरिएको छ ।

पछिल्ला केही दिनमै भारतमा पेट्रोल–डिजलको मूल्य दुई पटक बढिसकेको छ । मे १५ मा प्रतिलिटर ३ रुपैयाँ तथा मे १९ मा थप ९० पैसा मूल्य वृद्धि गरिएको थियो । ऊर्जा क्षेत्रका विज्ञहरूले अब पनि मूल्यवृद्धिको चाप कायम रहने र आगामी दिनमा प्रतिलिटर ७ देखि ९ रुपैयाँसम्म थप वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।

विशेषज्ञहरूका अनुसार यो वृद्धि एकैपटक नभई चरणबद्ध रूपमा हुन सक्नेछ । यदि कच्चा तेलको मूल्य निरन्तर उकालो लागिरह्यो भने भारतीय सरकारमाथि कर समायोजन वा अनुदान व्यवस्थापनको थप दबाब पर्ने देखिएको छ ।

महँगी र आर्थिक वृद्धिदरमा असर पर्ने चिन्ता

गीता गोपीनाथले इन्धन मूल्यवृद्धिको असर केवल पेट्रोल–डिजलमा सीमित नरहने चेतावनी दिएकी छन् । उनका अनुसार एलपीजी, एलएनजी, मलखाद तथा ढुवानी लागत महँगिँदा समग्र महँगी थप बढ्नेछ । यसले सर्वसाधारणको दैनिक खर्च बढाउनुका साथै उद्योग, कृषि र यातायात क्षेत्रलाई समेत दबाबमा पार्नेछ ।

उनले भनिन्, “यो पूर्ण रूपमा बाह्य झट्का हो । सरकारसँग विकल्प सीमित छन् । केही भार सरकारले वहन गर्नुपर्छ भने बाँकी लागत उपभोक्ता र निजी क्षेत्रतर्फ सर्नेछ ।”

अर्थशास्त्रीहरूका अनुसार इन्धन मूल्यवृद्धिले भारतको आर्थिक वृद्धिदरमा समेत असर पार्न सक्छ । उत्पादन लागत र उपभोग खर्च बढ्दा माग घट्ने तथा औद्योगिक गतिविधिमा सुस्तता आउन सक्ने जोखिम देखिएको छ ।

भारतीय रुपैयाँ थप कमजोर बन्ने सम्भावना

गीता गोपीनाथले अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ अझ कमजोर हुन सक्ने संकेत समेत गरेकी छन् । हाल भारतीय रुपैयाँ करिब ९७ प्रति डलरको आसपासमा कारोबार भइरहेको छ । यद्यपि उनले १०० रुपैयाँको ‘मनोवैज्ञानिक सीमा’ पार गर्नु मात्रै ठूलो संकटको संकेत नहुने बताएकी छन् ।

उनका अनुसार विश्वव्यापी अनिश्चितता बढ्दै जाँदा उदीयमान अर्थतन्त्रका मुद्राहरूमा दबाब बढ्नु स्वाभाविक हो । भारतको विदेशी मुद्रा सञ्चिति र आन्तरिक माग अपेक्षाकृत बलियो रहेकाले तत्काल ठूलो वित्तीय संकटको अवस्था नरहेको उनको भनाइ छ ।

नेपालमा पनि असर पर्ने सम्भावना

भारतमा इन्धन मूल्य बढे त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना देखिएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाटै पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजार र भारतीय मूल्य संरचनाको असर नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा पर्छ ।

यदि कच्चा तेलको मूल्य निरन्तर बढिरह्यो भने नेपालमा पनि पेट्रोल, डिजल र खाना पकाउने ग्यासको मूल्य समायोजनको दबाब बढ्न सक्ने ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन् । त्यसले यातायात भाडादेखि दैनिक उपभोग्य वस्तुको मूल्यसम्म असर पार्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.