सोमबार, श्रावण १८,२०८३ 03:36:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:27
Bizshala
Global IME Bank Limited

बजेटको मुखमा सरकारभित्रै शक्ति संघर्ष, मुख्यमन्त्री कि मन्त्री फेरबदल ?

बजेटको मुखमा सरकारभित्रै शक्ति संघर्ष, मुख्यमन्त्री कि मन्त्री फेरबदल ?
New Office

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा केन्द्रित हुनुपर्ने बेला सत्ता गठबन्धनभित्र नेतृत्व र मन्त्रालय बाँडफाँडको विवादले नयाँ मोड लिएको छ ।  

बजेट ल्याउने तयारीभन्दा पनि मुख्यमन्त्री परिवर्तन गर्ने कि नगर्ने भन्ने बहस अहिले प्रदेश राजनीतिमा प्रमुख एजेन्डा बनेको छ ।

सत्तारुढ एमाले र नेपाली कांग्रेसबीच केही साताअघि मन्त्रिमण्डल पुनर्गठन गर्ने, वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यकै नेतृत्वमा नीति तथा कार्यक्रम र बजेट ल्याउने तथा त्यसपछि सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्ने अनौपचारिक समझदारी बनेको थियो ।  

तर, उक्त सहमतिलाई कांग्रेस संसदीय दलले अस्वीकार गरेपछि सत्ता समीकरण पुनः अन्योलमा परेको छ ।

प्रदेश कांग्रेस नेतृत्व र एमालेबीच भएको समझदारीअनुसार तत्काल मन्त्रीहरू परिवर्तन गरेर नयाँ टोलीलाई बजेट निर्माणको जिम्मेवारी दिने योजना बनाइएको थियो ।  

तर, कांग्रेस संसदीय दलले मन्त्री मात्र होइन, मुख्यमन्त्रीसमेत परिवर्तन हुनुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको हो ।

कांग्रेसभित्र अहिले दुई धार स्पष्ट देखिएका छन् ।  

प्रदेश संगठन र नेतृत्व तह बजेटपछि नेतृत्व हस्तान्तरण गर्ने समझदारीको पक्षमा देखिएको छ भने संसदीय दल तत्काल आलोपालो नेतृत्वको पुरानो सहमति कार्यान्वयन गरी सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने अडानमा छ ।

यसले कांग्रेसभित्रकै शक्ति केन्द्रबीच मतभेद सतहमा ल्याएको छ ।

स्रोतका अनुसार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश नेतृत्व र एमालेबीच भएको सहमति स्वीकार नगरेपछि प्रदेश नेतृत्व असन्तुष्ट बनेको छ ।  

कांग्रेसका केही नेताहरू बजेटसम्म एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्को समूह तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने मागमा उभिएको छ ।

यता एमालेभित्र पनि मन्त्री बन्ने आकांक्षी सांसदहरूको दबाब बढ्दै गएको छ ।

मन्त्रालयको संख्या १२ बाट ८ मा झार्ने निर्णय भइसकेकाले सीमित मन्त्रालयमा अवसर खोज्ने सांसदहरू सक्रिय बनेका छन् । 

मन्त्री बन्न नपाएका सांसदहरूले संसदीय दलमार्फत दबाब बढाउन थालेका छन् ।

बिहीबार एमाले र कांग्रेसका प्रदेशस्तरीय शीर्ष नेताहरूबीच भएको छलफलले वर्तमान मन्त्रीहरूबाट बजेट निर्माण प्रभावकारी नहुने निष्कर्ष निकालेको बताइएको छ ।  

छलफलमा नयाँ अनुहार र विज्ञहरूको सहयोगमा बजेट निर्माण प्रक्रिया अघि बढाउने विषयमा समेत सहमति खोजिएको थियो ।

तर, कांग्रेस संसदीय दलले मुख्यमन्त्री परिवर्तनको विषयलाई प्राथमिकतामा राखेपछि सत्ता गठबन्धनभित्रको विवाद झन् गहिरिएको छ ।  

कांग्रेसले औपचारिक रूपमा अब सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने सन्देश एमालेलाई दिइसकेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिले लुम्बिनी प्रदेशमा वास्तविक संघर्ष मन्त्री हेरफेरको होइन, सत्ता नेतृत्वको हो ।  

बजेटअघि मुख्यमन्त्री परिवर्तन भए प्रशासनिक निरन्तरतामा असर पर्ने जोखिम छ भने परिवर्तन नभए कांग्रेसभित्र असन्तुष्टि बढ्ने सम्भावना देखिन्छ ।

यही कारण लुम्बिनी प्रदेशको राजनीति अहिले बजेट निर्माणभन्दा बढी सत्ता समीकरण, नेतृत्व हस्तान्तरण र गठबन्धनभित्रको शक्ति सन्तुलनमा केन्द्रित बनेको छ ।  

आगामी केही दिनभित्र हुने निर्णयले केवल बजेटको दिशा मात्र होइन, प्रदेश सरकारको राजनीतिक भविष्यसमेत तय गर्ने देखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.