काठमाण्डौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरेको छ।
यो आयोजना अमेरिकी सहयोग संस्था एमसीसीको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा निर्माण हुँदैछ।
आयोजनाअन्तर्गत तीनवटा ४०० केभी क्षमताका सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।
आयोजनाले नेपालको राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई मजबुत बनाउने, विद्युत् आपूर्ति थप भरपर्दो बनाउने, ऊर्जा व्यापार विस्तार गर्ने तथा औद्योगिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकार, अमेरिकी दूतावास, एमसीसी तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूले यसलाई नेपालको ऊर्जा पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धि र दीर्घकालीन लगानीका रूपमा व्याख्या गरेका छन्।
निर्माण सम्पन्न भएपछि रातमाटे र नयाँ दमौली देशकै ठूला उच्च(भोल्टेज सबस्टेशनमध्ये पर्नेछन्।

