काठमाण्डौ । अमेरिका र ईरानबीच जारी तनाव अन्त्य गर्ने उद्देश्यले तयार गरिएको सम्भावित सम्झौतामा हस्ताक्षर हुने समयलाई लिएर दुवै पक्षका भनाइहरू फरक–फरक देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार नै सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् भने ईरानले त्यसबारे कुनै निश्चित समय तय नभएको स्पष्ट पारेको छ।
ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले शनिबार जारी वक्तव्यमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गर्ने ठ्याक्कै समय अझै निर्धारण नभएको बताएका छन्। उनका अनुसार आइतबार हस्ताक्षर हुने सम्भावना नरहेको भए पनि आगामी केही दिनभित्र सहमति औपचारिक रूप लिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
यता ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गर्दै त्यसपछि स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय आवागमनका लागि खुला गरिने बताएका छन्। उनले ईरानको परमाणु कार्यक्रमसँग सम्बन्धित विषयहरू पनि सम्झौताको महत्वपूर्ण अंश रहेको इंगित गरेको छन् ।
यस वार्तामा मध्यस्थको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले भने सम्झौताको अन्तिम पाठमा उल्लेखनीय प्रगति भएको र दुवै पक्ष इलेक्ट्रोनिक हस्ताक्षरको तयारीमा रहेको जनाएको छ। पाकिस्तानी पक्षले आगामी २४ घण्टाभित्र प्रक्रिया टुङ्गिने आशा व्यक्त गरेको छ।

