काठमाण्डौ । सन् २०२६ फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ। यो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा पहिलो स्थान समेत सुनिश्चित गरेको छ।
खेलको निर्णायक गोल दोस्रो हाफको सुरुवाततिर लुइस रोमोले गरेका थिए। दक्षिण कोरियाली गोलकिपर किम सेउङ–ग्युको गल्तीको फाइदा उठाउँदै उनले खाली गोलमा बल पठाएका थिए। खेल ग्वाडालाजारास्थित एस्टाडियो अक्रोनमा सम्पन्न भएको हो।
दक्षिण कोरियाले अन्तिम समयमा बराबरी गर्ने प्रयास गरे पनि मेक्सिकोका गोलकिपर ताला राङ्गेलले खेल बचाउने उत्कृष्ट सेभ गर्दै टोलीलाई जित दिलाए। विशेषगरी चो गुए–सुंगको हेडरलाई रोकेर उनले निर्णायक भूमिका खेले।
यसअघि उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको मेक्सिकोले लगातार दुई जितसँगै ६ अंक जोडेको छ। दक्षिण कोरिया ३ अंकमा कायम छ भने दक्षिण अफ्रिका र चेकिया १–१ अंकमा रहेका छन्।
हेड–टु–हेड टाइब्रेकरका कारण दक्षिण कोरियासँगको तुलना भए पनि मेक्सिकोले पहिले नै समूह विजेता बन्ने सुनिश्चित गरेको छ। प्रशिक्षक हाभियर अगिरेको नेतृत्वमा रहेको मेक्सिकोले अब समूह चरणको अन्तिम खेल जुन २४ मा चेकियासँग एस्टाडियो एस्तेकामा खेल्नेछ।
यस समूहबाट मेक्सिकोले जुन ३० मा हुने नकआउट चरणमा तेस्रो स्थान प्राप्त टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

