काठमाण्डौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४५८ सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सुरक्षा र अनुशासनलाई सुदृढ बनाउन सञ्चालन गरिएको नियमित तथा विशेष अनुगमन अभियानका क्रममा ठूलो संख्यामा चालकहरूलाई कानूनी दायरामा ल्याइएको हो।
कारबाहीबाट राज्यकोषमा कुल १९ लाख ६० हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
कारबाही विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५५ जना चालकलाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने ८७ जना चालक पनि कारबाहीको दायरामा परेका छन्।
ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२४ जना तथा तीव्र गतिमा सवारी चलाउने १५७ जना चालकलाई समेत जरिवाना गरिएको छ।
यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ८० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना तथा सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी सवारी साधनको प्राविधिक अवस्था परीक्षण नगरी सडकमा सञ्चालन गर्ने २२ जनालाई समेत कानूनी दायरामा ल्याइएको छ।
बाँकी १ हजार ६२७ जना चालकलाई अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा कारबाही गरिएको ट्राफिक प्रहरीले स्पष्ट पारेको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न निरन्तर अनुगमन र कारबाही अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

