काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी प्रणाली आइतबारसम्म कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही भू–भागसम्म फैलिएको छ। त्यस्तै लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका केही स्थानमा समेत मनसुन प्रवेश गरेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालमा यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो। हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा यसको विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले मनसुन क्रमशः सक्रिय बन्दै गएपछि देशका अन्य क्षेत्रमा पनि यसको प्रभाव विस्तार हुने बताएका छन्। महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना तथा पूर्वानुमान नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ।
महाशाखाले सर्वसाधारण, किसान तथा सरोकारवाला निकायलाई तीन दिने मौसम बुलेटिन नियमित रूपमा अवलोकन गर्न तथा मौसमसम्बन्धी अद्यावधिक सूचनाप्रति सचेत रहन आग्रह गरेको छ।

