काठमाण्डौ । भारतको लखनऊस्थित अलीगञ्ज क्षेत्रमा भएको भीषण अग्निकाण्डको घटनाले अनुसन्धान र कानूनी प्रक्रियामा नयाँ मोड लिएको छ।
घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै राज्य मानवअधिकार आयोगमा औपचारिक उजुरी दर्ता गरिएको छ।
इलाहाबाद उच्च अदालतका अधिवक्ता तथा मानवअधिकार अनुसन्धानकर्ता डा. गजेन्द्र सिंह यादवले आयोगमा उजुरी दर्ता गर्दै घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेका हुन्।
उनले सुरक्षा मापदण्डको सम्भावित उल्लङ्घन र प्रशासनिक लापरवाहीबारे गहिरो छानबिन हुनुपर्ने बताएका छन्।
यसैबीच, उत्तर प्रदेश सरकारले घटनाको विस्तृत अनुसन्धानका लागि विशेष अनुसन्धान टोली (एसआईटी) खटाएको छ।
दुई सदस्यीय टोली घटनास्थलतर्फ पुगिसकेको छ र प्रारम्भिक तथ्य संकलन शुरु गरेको बताइएको छ।
मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा छानबिन अघि बढाइएको जनाइएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै लखनऊ उत्तर क्षेत्रका भारतीय जनता पार्टी (भाजपा) का विधायक नीरज बोहराले दोषीमाथि कडा कारबाही हुने बताएका छन्।
उनले पीडित परिवारले अग्नि सुरक्षा अनुमति (फायर एनओसी) तथा व्यावसायिक भवन सञ्चालन प्रक्रियामाथि प्रश्न उठाएको उल्लेख गर्दै दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने दाबी गरे।
सोमबार अलीगञ्जस्थित एक व्यावसायिक भवनमा लागेको भीषण आगलागीमा १५ जनाको ज्यान गएको थियो।
उद्धारका क्रममा भवनभित्र प्रवेश कठिन भएपछि राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का जवानहरूले भवनको छेउको पर्खाल भत्काएर दुईवटा ठूला प्वाल बनाएका थिए, जसपछि उद्धार कार्य सम्भव भएको थियो।
घटनाको वास्तविक कारण, सुरक्षा मापदण्डको पालना तथा सम्भावित लापरवाहीबारे विस्तृत अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एजेन्सी

