काठमाण्डौ । काठमाण्डौ सुकुम्वासीहरूले स्थायी बसोबासको विकल्प नदिई होल्डिङ सेन्टरबाट हटाउने प्रयास भएमा आफूहरू पुनः पुरानै स्थानमा फर्केर बस्ने चेतावनी दिएका छन्।
काठमाण्डौको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा अस्थायी रूपमा बसोबास गरिरहेका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरूले आफूहरूलाई बसोबासस्थलबाट हटाइएको दुई महिना बितिसक्दा पनि स्थायी आवासको कुनै ठोस व्यवस्था नभएको भन्दै तत्काल समाधानको माग गरेका छन्।
सरकारले काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरूलाई गत वैशाख १२ गतेदेखि हटाउन शुरु गरेको थियो।
त्यतिबेला प्रभावित परिवारलाई १५ दिन अस्थायी सेल्टरमा राख्ने र त्यसपछि ६० दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको उनीहरूको भनाइ छ।
तर, दुई महिना बितिसक्दा पनि स्थायी पुनर्वासका लागि कुनै प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ।
यसैबीच जिल्ला प्रशासन कार्यालय, काठमाडौँले असार ९ गते सूचना जारी गर्दै असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ।
सूचनामा प्रभावित परिवारलाई २५ हजार रुपैयाँसहित स्थान छोड्न र त्यसपछि आफ्नै व्यवस्था गर्न भनिएको उल्लेख छ, जसप्रति सुकुम्वासी समुदायले आपत्ति जनाएका छन्।
उनीहरूले सरकारले अस्थायी रूपमा राखिएको स्थानबाट बिना विकल्प हटाउन खोज्नु अन्यायपूर्ण भएको भन्दै पाँच बुँदे मागसमेत अघि सारेका छन्।
उनीहरूको मागमा सुकुम्वासी परिवारको विस्तृत लगत संकलन र प्रमाणीकरण गर्नुपर्ने, विस्थापित परिवारलाई प्राथमिकतामा राखेर स्थायी समाधान खोजिनुपर्ने, तथा दीर्घकालीन व्यवस्था नभएसम्म होल्डिङ सेन्टरमा आधारभूत सुविधा सहित बस्ने व्यवस्था गर्नुपर्ने समावेश छ।
सुकुम्वासीहरूले स्पष्ट रूपमा कुनै विकल्प नदिई जबर्जस्ती हटाइएमा आफूहरू बाध्य भएर पहिले बसोबास गर्दै आएको स्थानमै फर्कने चेतावनी दिएका छन्।
उनीहरूले समस्याको दीर्घकालीन र मानवीय समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

