काठमाण्डौ । असार महिनाको पहिलो ९ कार्यदिनमै ७१ निजामती कर्मचारीले राजीनामा दिएका छन्।
राष्ट्रिय किताबखाना (निजामती) का अनुसार उनीहरूको राजीनामा स्वीकृत भई पेन्सन प्रक्रियाका लागि अघि बढाइएको छ।
सोही अवधिमा ८९ कर्मचारी अनिवार्य अवकाशमा गएका छन् भने राजीनामाको संख्या असारका विभिन्न दिनमा क्रमशः बढ्दै गएको देखिन्छ।
अधिकारीहरूका अनुसार राजीनामा दिनेमा सहसचिव, उपसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारी छन्।
केहीले सरुवा असन्तुष्टि, केहीले प्रस्तावित निजामती सेवा विधेयकका प्रावधान तथा सेवा अवधि र पेन्सनसम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ।
विशेषगरी ३० वर्ष सेवा अवधि र उमेर हदसम्बन्धी नयाँ व्यवस्थाले पेन्सन अधिकारमा असर पर्ने आशंकाले पनि राजीनामा बढेको अनुमान गरिएको छ।
ट्रेड युनियन खारेजीपछि कर्मचारी असन्तोष थप बढेको विश्लेषण गरिएको छ।
किताबखानाका अनुसार राजीनामा दिने क्रम अझै रोकिएको छैन र आगामी दिनमा संख्या बढ्न सक्ने देखिएको छ।

