काठमाण्डौ । चालू आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाका देशभर १४९ शाखा बन्द तथा समायोजन भएका छन्।
नेपाल राष्ट्र बैंकले महानगरपालिकाभित्र धेरै शाखा भएका बैंक तथा वित्तीय संस्थालाई कर्मचारी कटौती नगरी शाखा गाभ्न वा एकीकरण गर्न दिएको सुविधापछि शाखा समायोजन तीव्र भएको हो।
राष्ट्र बैंकका अनुसार हालसम्म ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा एकीकरण भएका छन्।
डिजिटल बैंकिङको प्रयोग बढ्दै गएपछि महानगरभित्र आवश्यकताअनुसार मात्रै शाखा सञ्चालन गर्ने नीति अपनाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले शाखा समायोजन गर्दा ग्राहक सेवामा असर पर्न नहुने, कर्मचारी कटौती गर्न नपाइने तथा अपायक स्थानमा सरुवा गरेर दुःख दिन नपाइने स्पष्ट व्यवस्था गरेको छ।

यस्ता गुनासा आए केन्द्रीय बैंकले हस्तक्षेप गर्ने जनाएको छ।
चालू आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकका १४१ शाखा र विकास बैंकका १५ शाखा घटेका छन् भने फाइनान्स कम्पनीका २ शाखा थपिएका छन्। शाखा समायोजनमा एनआईसी एशिया बैंक (४४), कुमारी बैंक (२४), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (१८) र प्रभु बैंक (१२) अग्रस्थानमा रहेका छन्।
राष्ट्र बैंकको निर्देशिका अनुसार शाखा समायोजनअघि ९० दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने, ग्राहकले चाहेमा बिनाशुल्क कर्जा चुक्ता वा सेवा बन्द गर्न पाउने तथा समायोजनपछि ३ कार्यदिनभित्र राष्ट्र बैंकमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।