काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै देशभरका अधिकांश पेट्रोल पम्पहरूमा आपूर्ति अवरोध देखिएको छ। व्यवसायीहरूले मूल्य घटेपछि घाटा हुने आशंकामा इन्धन खरिद तथा बिक्री रोकेपछि कतिपय पम्पहरूमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको छ।
निगमले मंगलबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले मूल्य घटाएको थियो। मूल्य समायोजनपछि बजारमा थप घट्ने अनुमानका कारण पेट्रोलियम व्यवसायीहरूले तत्काल इन्धन उठाउन अनिच्छा देखाएको बताइएको छ।
यसैबीच, काठमाण्डौ उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोलको अस्थायी अभाव देखिएको छ। निगमका अनुसार थानकोट डिपोबाट नियमित आपूर्ति भइरहेको भए पनि केही पम्पहरूले समयमै इन्धन खरिद नगर्दा वितरणमा समस्या देखिएको हो।
नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले मागअनुसार इन्धन आपूर्ति भइरहेको जानकारी दिँदै निगमले अग्रिम भुक्तानीका आधारमा मात्र इन्धन उपलब्ध गराउने व्यवस्था रहेको स्पष्ट पारे। उनले मूल्य घट्ने आशंकामा पम्पहरूले पर्याप्त भण्डारण नगर्दा केही स्थानमा अभाव देखिएको बताए।
पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाण्डौ उपत्यकामा तीनवटा टोली परिचालन गरेर अनुमगन गरिरहेको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरले पम्पहरुले माग गरेबमोजिमको मात्रै तेल उपलब्ध गराउँदै आएको बताए ।
ठाकुरका अनुसार निगमले पैसा प्राप्त भएपछि मात्रै पम्पहरुलाई पेट्रोल उपलब्ध गराउने र मूल्य घट्ने आशंकामा पेट्रोल पम्पले इन्धन खरिद नगरी पर्याप्त भण्डारण नगर्दा केही पम्पहरुमा अभाव देखिएको हो ।
साथै नजिकको स्थानका पम्पहरुमा थानकोटबाट पेट्रोलियम पदार्थ सप्लाई भइसकेकाले ५ बजेसम्म सबै पम्पहरुमा पेट्रोल सहजै पाइने ठाकुरले बताए ।

