काठमाण्डौ । आईएमई लिमिटेड सबैभन्दा बढी रेमिट्यान्स भित्राउने कम्पनीको रुपमा सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स कम्पनीहरुमध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्राउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो ।
राष्ट्र बैंकमा शुक्रवारआयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरे।
विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्यक्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
प्रशंसापत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए।
नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिट्यान्स भित्राउने बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई सम्मानित गर्दै आईरहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                