काठमाडौं । पेन्सनरहरूले अब नागरिक एपमार्फत घरमै बसेर पेन्सन प्रमाणीकरण गर्न सक्ने भएका छन् ।
पेन्सन व्यवस्थापन कार्यालयको डिजिटल पेन्सन प्रमाणीकरण सेवा नागरिक एपमा एकीकृत भएसँगै पेन्सनरहरूले बैंकमा धाएर लाइन बस्नुपर्ने बाध्यता हट्ने भएको हो । यो सेवा प्रिक्सा कम्पनीअन्तर्गतको थर्ड फ्याक्टर एआईले विकास गरेको परिचय प्रमाणीकरण प्रविधिमा आधारित छ ।
यसअघि पेन्सन व्यवस्थापन कार्यालयले थर्ड फ्याक्टर एआईको दूरस्थ परिचय प्रमाणीकरण प्रणाली प्रयोग गरी डिजिटल पेन्सन प्रमाणीकरण सुरु गरेको थियो । अब सोही सेवा नागरिक एपमार्फत उपलब्ध भएपछि पेन्सनरहरूका लागि प्रक्रिया थप सहज र पहुँचयोग्य बनेको छ ।
पेन्सनरहरूले नागरिक एपमा रहेको पेन्सन व्यवस्थापन कार्यालयको सेवा चयन गरी आफ्नो पेन्सन नम्बर प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि पेन्सन खाता एपमा लिंक गरेर आवश्यक नवीकरण अवधिअनुसार डिजिटल रूपमा प्रमाणीकरण पूरा गर्न सकिनेछ ।
यो प्रमाणीकरण प्रक्रिया राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएको छ । प्रमाणीकरणका क्रममा प्रणालीले नागरिकको परिचय अभिलेखसँग अनुहार मिलान गर्ने, व्यक्ति वास्तविक रूपमा उपस्थित छ कि छैन भन्ने पुष्टि गर्न लाइभनेस जाँच गर्ने तथा दुरुपयोग, नक्कली उपस्थिति र ठगीजन्य प्रयास रोक्न सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
यससँगै पेन्सनरहरूले नियमित प्रमाणीकरणका लागि बैंकमा जानुपर्ने, लामो लाइनमा बस्नुपर्ने वा म्यानुअल उपस्थितिमा निर्भर रहनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।
थर्ड फ्याक्टर एआईका अनुसार उसको परिचय प्रमाणीकरण प्रविधिले हाल पेन्सन व्यवस्थापन कार्यालयमार्फत ३ लाखभन्दा बढी पेन्सनरलाई सेवा दिइरहेको छ । नागरिक एपमा सेवा उपलब्ध भएसँगै अब पेन्सनरहरूले राष्ट्रिय नागरिक सेवा प्लेटफर्मबाटै सोही प्रमाणीकरण प्रक्रिया प्रयोग गर्न सक्नेछन् ।
कम्पनीले यो एकीकरणलाई नेपालको डिजिटल सार्वजनिक सेवा विस्तारको महत्वपूर्ण कदमका रूपमा लिएको छ । नागरिक एपमार्फत पेन्सन प्रमाणीकरण सेवा उपलब्ध हुँदा सरकारी सेवा छिटो, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
थर्ड फ्याक्टर एआईले सरकार, वित्तीय संस्था तथा उद्यमहरूका लागि परिचय प्रमाणीकरण, अनुहार प्रमाणीकरण, लाइभनेस डिटेक्सन, डकुमेन्ट इन्टेलिजेन्स र डिजिटल अनबोर्डिङसम्बन्धी प्रविधि विकास गर्दै आएको छ ।

