काठमाण्डौ । प्रतिनिधि सभाले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। सभाबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको हो।

