काठमजाण्डौ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभा बैठकले सरकारद्वारा प्रस्तुत उक्त विधेयक बहुमतले पारित गरेको हो।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३८४ को सेवा तथा कार्य सञ्चालनका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
सभामुख तुलाराम घर्तीले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको घोषणा गरेका थिए।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। बजेटमाथि असार २१ गतेदेखि नियमित छलफल सुरु भएको थियो। चार दिनसम्म चलेको छलफलमा सत्ता पक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले बजेटका विभिन्न पक्षबारे सुझाव तथा धारणा राखेका थिए।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिएका थिए। त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतबाट पारित गरिएको हो।

