काठमाण्डौ। सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै गेटा अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा अध्ययन–अध्यापन, अनुसन्धान तथा स्वास्थ्य जनशक्ति उत्पादनको आधार तयार हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा आधुनिक, गुणस्तरीय र सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन।
अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने विषयमा यसअघि विभिन्न चरणमा नीतिगत छलफल र तयारी हुँदै आएको थियो।
सरकारको स्वीकृतिसँगै अब अस्पतालको संस्थागत संरचना, शैक्षिक कार्यक्रम सञ्चालन, आवश्यक जनशक्ति व्यवस्थापन र सेवा विस्तारको प्रक्रिया अघि बढ्नेछ।

