काठमाण्डौ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा प्रस्तावित आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिनेछ । स्पष्ट आधार र कारण खुलाएर विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट उजुरी दिन सकिने उनले जानकारी दिए ।
उनका अनुसार आगामी साउन ५ गते बस्ने समितिको बैठकमा प्राप्त उजुरी खोलिनेछ । त्यसपछि ती उजुरी अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिनेछ ।
बैठकमा विपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया हतारमा अघि नबढाउन आग्रह गरेका थिए । समिति सदस्य पद्मा अर्यालले एकै दिनमा प्रक्रिया अघि बढाउँदा सुनुवाइ प्रभावकारी नहुने भन्दै विधि र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताइन् ।
त्यस्तै, समिति सदस्य वर्षमान पुनले संसदीय सुनुवाइको विगतको अभ्यासलाई समेत ध्यानमा राखेर प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।
सांसदहरूको सुझावपछि सभापति श्रेष्ठले पर्याप्त छलफल र प्रक्रियागत ढंगबाट सुनुवाइ प्रक्रिया अघि बढाइने बताए ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगका रिक्त पदमा कार्की, सुब्बा र वाग्लेको नाम सिफारिस गरेको थियो ।

