काठमाण्डौ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ह्वील लकको विषयमा भएको विवादपछि जिल्ला प्रहरी परिसर काठमाण्डौले घटनास्थलमा खटिएका दुई महिला र एक पुरुष नगर प्रहरीलाई अनुसन्धानका लागि बोलाएको छ। प्रहरी वृत्त कालिमाटीमार्फत उनीहरूलाई ‘घटना विवरण’ कागज गर्न उपस्थित गराइएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार नेपाली राइड सेयरिङ सेवामार्फत यात्रु बोकेर राहदानी विभाग पुगेका थिए। उनले बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकल पार्किङ निषेधित क्षेत्रमा राखेपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएका थिए।
त्यसपछि ह्वील लकको विषयलाई लिएर गणेश नेपाली र नगर प्रहरीबीच विवाद भएको थियो। नेपालीले सडकभन्दा बाहिरको उचाइ भएको स्थानमा मोटरसाइकल राख्दा पनि किन ह्वील लक लगाइएको भन्दै प्रश्न गरेका थिए। साथै, आफ्नो मोटरसाइकलमा मात्र ह्वील लक लगाइएको र अन्य सवारीसाधनमा किन नलगाइएको भन्ने विषयमा समेत उनले आपत्ति जनाएका थिए।
विवादपछि गणेश नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर आफैँमाथि आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।

