काठमाण्डौ । देशमा लगातार तीन दिनसम्म आत्मदाह र आत्मदाह प्रयासका घटना सार्वजनिक भएका छन्। त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै मधेशमा अर्को घटना भएको थियो भने शनिबार काठमाडौँको बुद्धनगरमा फेरि एक व्यक्ति आगोबाट गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बुद्धनगरमा पारिवारिक विवादपछि ४५ वर्षीय आश्विन राउत गम्भीर घाइते भएका हुन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ।
काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले राउतको वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिए। घटना किन र कस्तो परिस्थितिमा भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि दुई दिनअघि त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि घटनालाई लिएर राजधानीमा विरोध प्रदर्शनसमेत भएको थियो।
त्यसको भोलिपल्ट सर्लाहीमा पनि एक व्यक्तिले आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको थियो। घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको बताइएको छ।
लगातार तीन दिनमा तीनवटा उस्तै प्रकृतिका घटना देखिनुले नागरिकमा बढिरहेको पारिवारिक तनाव, आर्थिक दबाब, सामाजिक असुरक्षा तथा मानसिक संकटबारे गम्भीर बहस आवश्यक भएको संकेत गरेको छ। यद्यपि यी घटनाबीच कुनै प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन।
यस्ता घटनालाई केवल व्यक्तिगत वा पारिवारिक विवादका रूपमा मात्र सीमित नगरी घटनाको पृष्ठभूमि, पीडितको मानसिक अवस्था र उपलब्ध सहयोग प्रणालीबारे समेत निष्पक्ष अनुसन्धान गर्नुपर्ने देखिएको छ। साथै संवेदनशील घटनाको रिपोर्टिङ गर्दा त्यसलाई सनसनीपूर्ण बनाउनेभन्दा रोकथाम, उपचार र सहयोगको सन्देशलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि बढेको छ।

