काठमाण्डौ। गणेश नेपाली आत्मदाह प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी वार्ता टोलीबीच करिब १४ घण्टा लामो संवाद भए पनि कुनै ठोस सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको छ। दुवै पक्षले आइतबार पुनः वार्ता जारी राख्ने बताएका छन्।
शनिबार साँझ काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा सुरु भएको वार्ता रातभर चले पनि पीडित पक्षका मुख्य मागमा सहमति जुट्न सकेन। सरकार मृतक परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन, मृतककी पत्नीलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न सकारात्मक देखिए पनि संसदीय छानबिनको सट्टा प्रशासनिक छानबिन गर्ने प्रस्तावमा अडिग रहेको पीडित पक्षको भनाइ छ।
पीडित पक्षले भने घटनामा संलग्न नगर प्रहरी र ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने तथा घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने मागबाट पछि नहट्ने स्पष्ट पारेको छ।
वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको जनाइएको छ। पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले प्रमुख जिल्ला अधिकारीबाट दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोप लगाएका छन्।
साथै, मृतकका बिरामी बुवाआमा र श्रीमतीलाई रातभर जिल्ला प्रशासन कार्यालयमै राखिएको तथा सहमतिमा हस्ताक्षर गर्न दबाब दिइएको आरोप पनि पीडित पक्षले लगाएको छ।
पीडित पक्षले काठमाण्डौ महानगरपालिकामार्फत दायित्व पन्छाउने प्रयास स्वीकार्य नहुने भन्दै नेपाल सरकारले औपचारिक रूपमा जिम्मेवारी नलिएसम्म कुनै सहमति नहुने अडान दोहोर्याएको छ। निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र न्याय सुनिश्चित नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी पनि उनीहरूले दिएका छन्।
उता, सरकारी वार्ता टोलीकी सदस्य तथा प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकार घटनाप्रति संवेदनशील रहेको र वार्तामार्फत समाधान खोज्ने प्रयास जारी रहेको बताएकी छन्। उनका अनुसार दुवै पक्षबीच संवाद निरन्तर रहेकाले चाँडै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
परिवारसँग सहमति हुन नसक्दा गणेश नेपालीको अन्त्येष्टि अझै हुन सकेको छैन। माग पूरा नभएसम्म शव नउठाउने परिवारको अडान कायम रहेकाले वीर अस्पतालबाट टिचिङ अस्पताल सारिएको शव अझै अन्त्येष्टिको प्रतीक्षामा छ।

