काठमाण्डौ । लगातारको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित मेची राजमार्गअन्तर्गत गोलाखर्क–राजदुवाली सडकखण्ड भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।
सडक जोखिमपूर्ण बनेपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। यसअघि मोटरसाइकल सञ्चालन गर्न दिइए पनि गएराति सडक थप भासिएपछि सुरक्षाका कारण पूर्ण रूपमा बन्द गरिएको हो ।
उक्त सडकखण्डमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क विच्छेद भएको छ।
सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट ती जिल्लातर्फ आएका ठूलो संख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन्।
यसैबीच, राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि वैकल्पिक यातायात मार्ग अवरुद्ध भएको छ।
त्यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सनसमेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। यसले इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक पहुँच थप प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि आवश्यक सिभिल संरचना डेढ महिनाअघि नै तयार भए पनि भारत सरकारले उपलब्ध गराउने भनिएको बेलीब्रिज सामग्री नआएका कारण समस्या समाधान हुन नसकेको हो।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरिरहेका सर्वसाधारण जोखिमपूर्ण राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्।

