काठमाण्डौ । नयाँ राहदानी छपाइ तथा वितरण प्रणाली सञ्चालनमा आएको पहिलो दिनमै देशका विभिन्न जिल्लामा प्राविधिक समस्या देखिएको छ। प्रणालीमा अवरोध आएपछि राहदानी बनाउन पुगेका सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।
जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले सोमबारदेखि नयाँ प्रणालीको जिम्मेवारी सम्हालेका हुन्। तर, सेवा सुरु भएको केही समयमै कतिपय जिल्लामा पासवर्ड नचल्ने र कतिपय स्थानमा प्रणाली नै ‘डाउन’ हुने समस्या देखिएको बताइएको छ।
प्राप्त जानकारीअनुसार पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दीलगायत जिल्लामा नयाँ प्रणालीमार्फत काम हुन सकेको छैन।
प्राविधिक समस्या देखिएपछि त्रिपुरेश्वरस्थित राहदानी विभागमा पनि सेवाग्राहीको भीड बढेको छ। पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणालीबाट सेवा सहज बनाउने सरकारी योजनामा सुरुवातमै धक्का लागेको छ।
दुई नाबालकको राहदानी छापेर उद्घाटन
परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बिहान दुई जना नाबालकको राहदानी छापेर नयाँ प्रणालीको उद्घाटन गरेका थिए।
विभागले करिब एक करोड नेपाली नागरिकको विवरण नयाँ प्रणालीमा सफलतापूर्वक स्थानान्तरण गरिएको दाबी गरेको थियो। तर, कार्यान्वयनको पहिलो दिनमै देखिएको समस्याले प्रणालीको प्राविधिक तयारीमाथि प्रश्न उठाएको छ।
सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमियाले सम्हाल्दै आएको राहदानीसम्बन्धी काम अहिले जर्मन कम्पनीहरूको जिम्मामा पुगेको हो।
विभाग भन्छ– सुरुवाती चुनौती स्वाभाविक
राहदानी विभागले नयाँ प्रणालीमा प्राविधिक समस्या देखिएको स्वीकार गरेको छ। विभागका अनुसार नयाँ प्रणाली सञ्चालनको प्रारम्भिक चरणमा केही चुनौती देखिनु स्वाभाविक हो।
विभागकी उपनिर्देशक सोनु थापाले प्राविधिक टोली तथा विदेशी विशेषज्ञहरू चौबीसै घण्टा प्रणाली सुधारमा खटिएको बताएकी छन्।
विवादबीच अघि बढाइएको राहदानीसम्बन्धी ठेक्काअन्तर्गत नयाँ कम्पनीहरूले काम सुरु गरेका हुन्। ठेक्का प्रक्रियामाथि प्रश्न उठ्दै आए पनि अन्तर्राष्ट्रिय सम्झौता र प्राविधिक जटिलताका कारण प्रक्रिया निरन्तर अघि बढाइएको थियो।

