काठमाण्डौ । सोमबार बिहान काठमाडौंका तीन प्रमुख सञ्चारगृहको प्रवेशद्वार लक्षित गरी गरिएको ‘पार्किङ घेराबन्दी’मा प्रयोग भएका सवारीसाधनको स्वामित्वसम्बन्धी विवरण खुलेको छ। एउटा गाडी बैंकको वित्तीय स्वामित्वमा रहेको र बाँकी गाडी विभिन्न व्यक्ति तथा कम्पनीका नाममा किनबेच भएको पाइएको हो।
तर ती गाडी सञ्चारगृहका गेटमा कसले पुर्यायो, किन आवतजावत अवरुद्ध गरियो र घटनाको पछाडि को संलग्न थियो भन्ने विषय अझै रहस्यमै छ।
सोमबार बिहान साढे ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको प्रवेशद्वारमा निजी नम्बर प्लेटका गाडी बाटो छेक्ने गरी पार्किङ गरिएको थियो।
गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालय परिसरभित्र आफ्ना सवारीसाधन लैजान, बाहिर निकाल्न र नियमित रूपमा आवतजावत गर्नसमेत कठिनाइ भएको थियो।
प्राप्त सवारी दर्ता विवरणअनुसार हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको बा.१० च १२५५ नम्बरको कोसुन्डा गाडी २०७६ जेठ १६ गतेसम्म राजीव काजी श्रेष्ठको नाममा थियो। त्यसपछि उक्त गाडी डीआर अटोमोटिभ्सलाई बिक्री गरिएको देखिएको छ।
कान्तिपुर पब्लिकेसन्सको प्रवेशद्वारमा अवरोध सिर्जना गर्ने बागमती प्रदेश–०१–०३४ च ८४८० नम्बरको ‘जेको जे–सिक्स’ गाडी पायोनियर मोटोकर्प प्रालिले एसटी मोटर्सका लागि सानिमा बैंकमार्फत कर्जा लिएर खरिद गरेको खुलेको छ।
यातायात व्यवस्था विभागको अभिलेखमा उक्त गाडी २०८३ असार २४ गते मात्रै खरिद भएको देखिन्छ। खरिद भएको केही दिनमै उक्त गाडी सञ्चारगृहको प्रवेशद्वार अवरुद्ध गर्न प्रयोग भएको घटनाले थप प्रश्न जन्माएको छ।
त्यसैगरी अनलाइनखबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको ह्युन्डाई ग्रान्ड आई–१० गाडी श्रेयण शाहीको नामबाट २०८३ असार १२ गते सुनिल पौडेलको नाममा नामसारी भएको पाइएको छ।
गाडीहरूको दर्ता तथा स्वामित्व विवरण खुले पनि अभिलेखमा नाम देखिएका व्यक्ति वा संस्थाको घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइसकेको छैन। गाडीधनी, चालक र ती गाडी सञ्चारगृहसम्म पुर्याउने व्यक्ति एउटै हुन् वा फरक भन्ने विषय अनुसन्धानबाट मात्र खुल्नेछ।
घटनापछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली तीनवटै सञ्चारगृहमा पुगेको थियो। त्यसपछि क्रेनको सहयोगमा प्रवेशद्वार अवरुद्ध गरिरहेका गाडी हटाइएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले गाडीका वास्तविक चालक, प्रयोगकर्ता र घटनामा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि प्रहरीले घटनाको उद्देश्य, सम्भावित योजनाकार तथा गाडी पार्किङ गर्न लगाउने व्यक्तिबारे औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन।
नेपाल पत्रकार महासंघले घटनालाई प्रेस स्वतन्त्रतामाथिको ‘रहस्यमय’ र ‘निन्दनीय’ हमला भन्दै घोर भर्त्सना गरेको छ। महासंघले दोषीको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ।
एकै बिहान तीनवटा प्रमुख सञ्चारगृहको प्रवेशद्वारमा योजनाबद्ध जस्तो देखिने गरी गाडी राखिनु सामान्य पार्किङ त्रुटि मात्र हो वा सञ्चारमाध्यमलाई दबाब र त्रासमा राख्ने उद्देश्यसहित गरिएको गतिविधि हो भन्ने गम्भीर प्रश्न उठेको छ।
सवारीसाधनको स्वामित्वको नालिबेली खुले पनि घटनाका योजनाकार र त्यसको उद्देश्य अझै पर्दापछाडि छन्। प्रहरी अनुसन्धानले गाडीको दर्ता विवरणमा मात्र सीमित नभई ती गाडी कसको निर्देशनमा, कसले र किन सञ्चारगृहका गेटमा पुर्यायो भन्ने प्रश्नको उत्तर दिनुपर्ने देखिएको छ।

