काठमाण्डौ । सुदूरपश्चिम विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग तथा विश्वविद्यालय र आंगिक क्याम्पसका नाममा रहेको जग्गाको अवस्थाबारे छानबिन गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा.डा. राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरेको हो।
त्यस्तै, विश्वविद्यालय र आंगिक क्याम्पसका नाममा दर्ता रहेको तथा हाल चलनभोगमा रहेको जग्गाको विवरण र अवस्थाबारे छानबिन गर्न प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ।
आंगिक क्याम्पसहरूले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिको वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि तयार गरिएको विश्वविद्यालयले जनाएको छ।
यसैगरी, विश्वविद्यालयअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, सामान्य विज्ञान केन्द्रीय विभाग, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र कानुन केन्द्रीय विभागका शैक्षिक तथा प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्रसमेत आह्वान गरिएको छ।
विश्वविद्यालयका अनुसार उपकुलपति प्रा.डा. किशनदत्त भट्टले पदभार ग्रहण गरेपछि सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकता दिँदै यी निर्णयहरू गरिएको हो।

