काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार घट्दासमेत लगानीकर्ताले प्रतिफल लिन सक्ने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सेबोन अध्यक्ष डा. गोपालप्रसाद भट्टले सर्ट सेलिङलाई कार्यान्वयनयोग्य बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्। यो प्रणाली लागू भएपछि लगानीकर्ताले बजार बढ्दा मात्र नभई घट्दा पनि आफ्नो अध्ययन र अनुमानका आधारमा प्रतिफल लिन सक्ने उनले बताए।
अध्यक्ष भट्टले नेपालको सेयर बजारमा सूचक निरन्तर बढिरहनुपर्ने मनोविज्ञान हाबी रहेको उल्लेख गर्दै संसारको कुनै पनि पुँजीबजार सधैँ उकालो मात्र नलाग्ने बताए।
‘बजार तीन हजार पुग्दा पनि सबै खुसी हुँदैनन्, तीन हजार पाँच सय वा पाँच हजार पुगे पनि यसको सीमा हुँदैन,’ उनले भने, ‘तर संसारको कुनै पनि सूचक निरन्तर बढेकोबढ्यै गर्न सक्दैन।’
उनले बजार घट्दा धितोपत्र बोर्डमाथि दबाब सिर्जना हुने र बजार अस्वाभाविक रूपमा बढ्दा पनि बोर्डले के हेरिरहेको छ भन्ने प्रश्न उठ्ने गरेको बताए। बोर्डको भूमिका बजारलाई बढाउने वा घटाउने नभई सबै सहभागीका लागि निष्पक्ष, पारदर्शी र समान अवसरयुक्त कारोबार प्रणाली निर्माण गर्नु भएको उनको भनाइ थियो।
कसरी हुन्छ सर्ट सेलिङबाट नाफा?
सर्ट सेलिङ प्रणालीमा लगानीकर्ताले आफूसँग नभएको सेयर निश्चित प्रक्रियामार्फत सापटी लिएर पहिले बिक्री गर्न सक्छ। पछि उक्त सेयरको मूल्य घटेमा कम मूल्यमा पुनः खरिद गरी सापटी फिर्ता गर्दा बिक्री र खरिद मूल्यबीचको अन्तरबाट नाफा लिन सकिन्छ।
अध्यक्ष भट्टले उदाहरण दिँदै भने, ‘५० रुपैयाँमा सेयर बिक्री गरेर मूल्य ३० रुपैयाँमा झरेपछि किनेर फिर्ता गर्दा प्रतिकित्ता २० रुपैयाँ फाइदा हुन्छ।’
त्यस्तै, बजार बढ्ने अनुमान गर्ने लगानीकर्ताले हालजस्तै कम मूल्यमा सेयर खरिद गरेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन्।
‘अब बजार जतातिर गए पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने संयन्त्र बनाउँदै छौँ,’ उनले भने, ‘बजार तल जाँदा पनि र माथि जाँदा पनि अध्ययन सही भए प्रतिफल लिन सकिनेछ।’
‘बजार बढ्नैपर्ने बाध्यता हट्छ’
अध्यक्ष भट्टले अहिले नेपालको बजारमा मूल्य बढ्दा मात्र नाफा हुने एकतर्फी कारोबार प्रणाली रहेकाले बजार बढ्नैपर्छ भन्ने दबाब सिर्जना भएको बताए। सर्ट सेलिङ लागू भएपछि यस्तो मनोविज्ञान परिवर्तन हुने उनको दाबी छ।
‘अहिलेसम्म बजार एकै दिशामा चलेको छ। त्यसैले बजार बढ्नैपर्छ भन्ने बाध्यता देखिएको हो,’ उनले भने, ‘बजार घट्दा लगानीकर्ता संघहरूले आन्दोलन गर्ने र बोर्डलाई घेराउ गर्ने समस्या पनि यसबाट समाधान हुन्छ।’
यद्यपि सर्ट सेलिङमा लगानीकर्ताको अनुमान नमिले ठूलो नोक्सानीसमेत हुन सक्ने भएकाले यसको कार्यान्वयनसँगै सेयर सापटी प्रणाली, जोखिम व्यवस्थापन, मार्जिन व्यवस्था र प्रभावकारी अनुगमन आवश्यक हुनेछ।
अफवाह नियन्त्रणका लागि नीतिगत व्यवस्था
अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह तथा अपुष्ट सूचनालाई नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउने तयारी भइरहेको पनि जानकारी दिए।
सम्पत्ति छानबिन तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको गुनासो आएको उल्लेख गर्दै उनले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गरिने बताए।
उनले पुँजीबजारको दीर्घकालीन सुधारका लागि बोर्डले हालै ‘नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको र आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने कार्यक्रम समेटेर आर्थिक वर्ष २०८३/८४ को पुँजीबजार नीति पनि ल्याइएको जानकारी दिए।

