शुक्रबार, श्रावण १,२०८३ 04:31:04
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:31:04
Bizshala
Global IME Bank Limited

साउनसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापार चम्कियो, दैनिक कारोबार दोब्बरभन्दा बढी

साउनसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापार चम्कियो, दैनिक कारोबार दोब्बरभन्दा बढी
New Office

काठमाण्डौ ।  साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँका बजार हरियो चुरा, पहेँलो पोते र मेहन्दीले रंगिन थालेका छन्। धार्मिक आस्था, सांस्कृतिक परम्परा र पछिल्लो समय बढ्दो फेसनप्रतिको आकर्षणका कारण असन, इन्द्रचोक, बागबजारलगायतका प्रमुख बजारमा ग्राहकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।

हिन्दू धर्मावलम्बीले साउनलाई भगवान् शिवको विशेष महिनाका रूपमा लिने गर्छन्। महिनाभर शिवको पूजा–आराधना गर्ने, सोमबार व्रत बस्ने तथा हरियो र पहेँलो रङका पहिरन तथा शृङ्गार सामग्री प्रयोग गर्ने परम्परा छ। विशेषगरी महिलाले हातमा मेहन्दी, हरियो चुरा र पहेँलो पोते लगाउने चलनका कारण बजारमा यी सामग्रीको माग तीव्र बनेको हो।  लामो समयदेखि चुरापोतेको व्यापार गर्दै आएका व्यापारीका अनुसार साउन सुरु हुनुअघि नै दैनिक कारोबार दोब्बरभन्दा बढी भएको छ।

 “सामान्य समयमा दैनिक आठदेखि १० हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो। पछिल्ला केही दिनमा दैनिक २० देखि २५ हजार रुपैयाँसम्म कारोबार भइरहेको छ,” व्यापारीहरु बताउँछन्।

व्यवसायीहरूले ग्राहकको रुचिअनुसार विभिन्न डिजाइन, आकार र मूल्यका स्वदेशी तथा आयातित चुरा र पोते बिक्रीमा राखेका छन्। परम्परागत डिजाइनसँगै आधुनिक पहिरनमा मिल्ने हल्का, आकर्षक र फेसनेबल चुराको मागसमेत बढेको उनीहरू बताउँछन्।

चुरापोते मात्र होइन, साउनसँगै मेहन्दीको व्यापार पनि फस्टाएको छ। राजधानीका ब्युटीपार्लर, सपिङ मलदेखि सडक किनारासम्म मेहन्दी लगाउने महिलाको भीड देखिन थालेको छ। परिवार तथा साथीभाइसँग मिलेर मेहन्दी लगाउने, हरियो पहिरन लगाउने र धार्मिक गतिविधिमा सहभागी हुने क्रमले साउनलाई धार्मिकसँगै सामाजिक उत्सवको महिनाका रूपमा पनि स्थापित गरेको छ।

यस्तै हरियो चुरा किन्न आएका महिलाहरु साउनमा यस्ता सामग्री लगाउँदा सांस्कृतिक परम्पराको संरक्षण हुने बताउँछन्। यो केवल शृङ्गार नभई हाम्रो संस्कृति र आस्थासँग जोडिएको विषय रहेको उनीहरुको भनाई छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार माता पार्वतीले भगवान् महादेवलाई प्रसन्न गराई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पहेँलो पोते र मेहन्दी लगाएको धार्मिक किंवदन्तीसँग यो परम्परा जोडिएको छ। साउन वर्षा, हरियाली र प्रकृतिको पुनर्जीवनसँग सम्बन्धित महिना भएकाले हरियो रङलाई समृद्धि, सौभाग्य र जीवन्तताको प्रतीकका रूपमा लिइन्छ।

पछिल्ला वर्षमा सामाजिक सञ्जाल, फेसन र बजार प्रवर्द्धनका कारण यो चलन अझ व्यापक बनेको छ।

तीज नजिकिँदै जाँदा हरियो चुरा, पोते, मेहन्दी र पहिरनको माग थप बढ्ने व्यवसायीहरूको अपेक्षा छ। धार्मिक आस्था र सांस्कृतिक परम्पराले निरन्तरता पाउँदा साउन राजधानीका साना तथा मझौला व्यवसायीका लागि मौसमी आम्दानी बढाउने महत्त्वपूर्ण अवसरसमेत बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.