काठमाण्डौ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ४६८ वटा मुद्दा फर्छ्योट गरेको छ।
अदालतमा कुल १६ हजार १३९ मुद्दाको लगत रहेकामा ७१ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट गरिएको हो। अदालतले दुई वर्ष र १८ महिना नाघेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको जनाएको छ। एक वर्ष नाघेका मुद्दाको संख्या भने ३५३ रहेको छ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पुराना मुद्दालाई प्राथमिकताका साथ फर्छ्योट गरिएको बताए।
“विकास निर्माण र राजस्व असुलीसम्बन्धी मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ,” उनले भने।
अदालतले चालु आर्थिक वर्षमा ७४० वटा मुद्दा फर्छ्योट गरिसकेको जनाएको छ। एक वर्ष नाघेका थुनुवा मुद्दामध्ये १२ वटा मुद्दा अझै बाँकी छन्।
उच्च अदालत पाटन मातहतका जिल्ला अदालतमध्ये सिन्धुपाल्चोक जिल्ला अदालतले ७७.४ प्रतिशत र रसुवा जिल्ला अदालतले ७५.६ प्रतिशत मुद्दा फर्छ्योट गरेका छन्। काठमाडौँ जिल्ला अदालतले भने सबैभन्दा कम ४२.३ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।