काठमाण्डौ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी तथा दोस्रो महिला उषा भान्सले आइतबार आफ्नो चौथो सन्तानका रूपमा छोरा एलेक नील भान्सलाई स्वागत गरेका छन्। उपराष्ट्रपति भान्सले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी सार्वजनिक गर्दै आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्। साथै, उनका तीन सन्तान नयाँ भाइलाई स्वागत गर्न उत्साहित रहेको उल्लेख गरेका छन्।
भान्सले वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टर तथा ह्वाइट हाउस मेडिकल युनिटका चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्। जेडी र उषा भान्सले सन् २०१४ मा विवाह गरेका थिए र यसअघि उनीहरूका तीन सन्तान छन्।
यस जन्मसँगै जेडी भान्स कार्यकालमै सन्तान जन्मिने १५० वर्षभन्दा बढी समययताका पहिलो अमेरिकी उपराष्ट्रपति बनेका छन्। यसअघि सन् १८७० मा तत्कालीन उपराष्ट्रपति स्कायलर कोलफ्याक्सको कार्यकालमा उनका छोरा जन्मिएको इतिहास रहेको उल्लेख गरिएको छ।
यसअघि मे महिनामा पत्रकार सम्मेलनका क्रममा भान्सले पत्नीको सुत्केरी अवधिमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले केही समयका लागि आफूलाई उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिदिने भन्दै मजाक गरेका थिए, जसले उपस्थितहरूलाई हँसाएको थियो।
भान्स पितृत्व बिदामा जाने तयारीमा रहे पनि अमेरिकामा ‘कार्यवाहक उपराष्ट्रपति’ नियुक्त गर्ने संवैधानिक व्यवस्था छैन। अमेरिकी संविधानको २५औँ संशोधनअनुसार उपराष्ट्रपतिको पद रिक्त भएमा मात्र नयाँ उपराष्ट्रपतिको स्थायी नियुक्तिको प्रक्रिया अपनाइन्छ।
अस्थायी अनुपस्थितिको अवस्थामा उपराष्ट्रपतिको संवैधानिक भूमिकाअनुसार सिनेटको बैठकको अध्यक्षता आवश्यक परे सिनेटका प्रिसिडेन्ट प्रो टेम्पोरे वा तोकिएको सिनेटरले गर्ने व्यवस्था छ।

