काठमाण्डौ । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारी अपुग रहेको भन्दै प्रतिपक्षी दलहरूले राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्।
कांग्रेस राष्ट्रियसभा दलकी नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावलाई एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालका सांसदहरूले समर्थन गरेका छन्।
प्रस्तावमा २०८१ असोजको बाढीपहिरोअघि ५६ जिल्लामा चेतावनी जारी भए पनि प्रभावकारी पूर्वतयारी नहुँदा ठूलो क्षति भएको स्मरण गराइएको छ।
सरकारी अनुमानअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने जोखिम छ।
प्रस्तावमार्फत गृहमन्त्री सुधन गुरुङसँग राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, जोखिमयुक्त बस्तीको सुरक्षा, उद्धार जनशक्ति तथा उपकरण, राहत कोष, तीन तहका सरकारबीचको समन्वय र पूर्वसूचना प्रणालीको प्रभावकारिताबारे जवाफ मागिएको छ।
त्यस्तै, मोबाइल नेटवर्क नपुग्ने दुर्गम क्षेत्र, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा स्थानीय भाषा मात्र प्रयोग गर्ने समुदायसम्म विपद् सूचना पुर्याउने वैकल्पिक व्यवस्थाबारे पनि सरकारसँग स्पष्ट जानकारी माग गरिएको छ।

