काठमाण्डौ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। कांग्रेसको इतर पक्षले काठमाण्डौमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टी कमजोर भए देश नै संकटमा पर्न सक्ने चेतावनी दिए।
बस्नेतले कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै पार्टी विभाजन नभई नयाँ ढंगबाट अघि बढ्नुपर्ने धारणा राखे। उनले भने, ‘प्रदेश भेला गरिसकेका छौं। अब केन्द्रीय भेला गर्नुपर्छ। पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो। गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई समाप्त हुन दिइने छैन।’
उनले गगन थापाको नेतृत्वमा निर्वाचनमा जाँदा कांग्रेसले ठूलो क्षति व्यहोरेको दाबी गरे। थापाले काठमाण्डौ–४ बाट चुनाव लडेको भए जमानत जफत हुने अवस्था आउने उनको जिकिर थियो।
बस्नेतले गगन थापा नेतृत्वको समूह भदौ २ गतेदेखि महाधिवेशन प्रक्रियामा जाने भएकाले ढिलाइ नगरी बिपी कोइरालाले स्थापना गरेको कांग्रेसको मूल भावना फर्काउनुपर्ने बताए। उनले पार्टीभित्र सहमतिको सम्भावना न्यून रहेको समेत दाबी गरे।

