काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकासका लागि गरेका पछिल्ला निर्णयहरूको स्वागत गरेका छन्। उनले निर्माण व्यवसायीहरूलाई पनि जिम्मेवार भएर काम सम्पन्न गर्न आग्रह गरेका छन्।
दाङको घोराहीमा बुधबार आयोजित लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पन्तले पूर्वाधारमैत्री निर्णयका लागि सरकारप्रति आभार व्यक्त गरे।
उनले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐनले निर्माण उद्योगका लागि महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरे। ‘लो बिडिङ’ प्रणालीमार्फत ठेक्का लिने र काम गर्ने प्रवृत्तिको अन्त्य गर्दै औसत विधिबाट ठेक्का प्राप्त गर्ने संशोधित व्यवस्थाले पूर्वाधार क्षेत्रका धेरै समस्या समाधान गर्ने उनको भनाइ थियो।
पन्तले बजेट विनियोजन वा स्रोत सुनिश्चित नभएसम्म खरिद प्रक्रिया सुरु गर्न नहुने, जग्गा, मुआब्जा, निर्माणस्थल तथा वातावरणीय स्वीकृति पूरा भएपछि मात्र बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था सकारात्मक रहेको बताए।
उनले सरकारले स्वीकृत मापदण्डअनुसार लागत अनुमान तयार गर्नुपर्ने, नियोजक, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट तोकिनुपर्ने बताए। साथै, तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्ने कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा दिने र निर्माण व्यवसायीलाई पनि प्रोत्साहन तथा प्रशंसापत्र दिने व्यवस्थाको स्वागत गरे।
निर्माण व्यवसायीहरू आर्थिक रूपमा कठिन अवस्थामा रहेको समयमा सार्वजनिक खरिद नियमावलीको १५औं संशोधनमार्फत म्याद थप सुनिश्चित गरिएकोमा उनले सरकारलाई धन्यवाद दिए। निर्माण उद्योगलाई चलायमान बनाउन राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति तथा त्यसअनुसारका निर्देशनले समेत राहत पुर्याउने उनको भनाइ थियो।
महासंघको वर्तमान नेतृत्व निर्माण व्यवसायीमैत्री कानुन निर्माणका लागि सक्रिय रहेको बताउँदै पन्तले निर्माण व्यवसायी ऐन २०५५ संशोधन प्रक्रियामा महासंघले भूमिका निर्वाह गरिरहेको जानकारी दिए।
सरकारले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिएर निर्णय गरिरहेको अवस्थामा निर्माण व्यवसायीहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्दै गुणस्तरीय काम गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा अन्य वक्ताहरूले पनि निर्माण व्यवसायी र सरकारबीच सहकार्य भए मुलुकको समृद्धि सम्भव हुने धारणा राखेका थिए।
महासंघको वर्तमान नेतृत्वले परम्परागत कार्यशैली परिवर्तन गर्दै संस्थालाई प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी र आधुनिक संस्थाका रूपमा रूपान्तरण गर्ने अभियान अघि बढाएको पन्तले बताए।
डिजिटल प्रणाली विस्तार, अनलाइन सेवाको प्रवर्द्धन, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर महासंघलाई समयानुकूल र परिणाममुखी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

