काठमाण्डौ । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन बोलाएको हो।
सर्टलिस्टमा सुमनमान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही, मनोज पौडेल र इन्जिनियर मधुप्रसाद भेटुवाल रहेका छन्।
सिफारिस समितिका अनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन ७ र ८ गते अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ। पहिलो दिन चार जना र दोस्रो दिन बाँकी चार जनाको अन्तर्वार्ता लिने कार्यतालिका छ।
प्रत्येक उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि एक घण्टाको समय उपलब्ध गराइनेछ।
समितिले उम्मेदवारहरूलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित हुन निर्देशन दिएको छ। उनीहरूले व्यावसायिक कार्ययोजनाको डिजिटल प्रति तथा आवेदनका क्रममा बुझाएका सम्पूर्ण कागजातको सक्कल प्रति साथमा ल्याउनुपर्नेछ।

