काठमाण्डौ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीलाई वार्ताका लागि बोलाएको छ। मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घसहित सम्बन्धित सरोकारवालालाई बुधबार पत्राचार गर्दै छलफलमा सहभागी हुन अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार व्यवसायीहरूसँगको छलफल बिहीबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा हुनेछ।
न्त्रालयले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का विभिन्न प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्।
व्यवसायीहरूले नियमावलीका केही व्यवस्था अव्यावहारिक रहेको भन्दै संशोधन तथा खारेजीको माग गरेका छन्। उनीहरूले विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने मुख्य आम्दानीको स्रोतमा रोक लगाउने प्रावधान हटाउन, दोहोरो कर विवरण बुझाउनुपर्ने व्यवस्था खारेज गर्न, समता शुल्कको व्यवस्था हटाउन तथा विद्यार्थीलाई मानसिक वा आर्थिक क्षतिको आधारमा क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान पुनरावलोकन गर्न माग गरेका छन्।

