काठमाण्डौ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै रहेको छ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। यस्तै, मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको जनाइएको छ।
आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति पनि देशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात, साथै पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्ता मौसमीय गतिविधिका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचनामा नियमित रूपमा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।

