काठमाण्डौ। आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८÷७९ को पूर्ण कर परीक्षण अघि बढाइदिने नाममा पालले सेवाग्राहीसँग ५ लाख रुपैयाँ मागेका थिए। रकम उपलब्ध नभएसम्म अडिट प्रक्रिया अगाडि नबढ्ने भन्दै कम्पनीका आवश्यक कागजातसमेत संकलन गरिएको जनाइएको छ।
अनुसन्धानमा पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि ‘मिलाउनुपर्ने’ भन्दै घुस रकम मागेको आरोप लागेको छ। उक्त दाबीको सत्यताबारे भने अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।
घुस लेनदेनको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढेको देखिएको छ। कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ देखि २ बजेसम्म कुराइए पनि रकम बुझाउने काम हुन सकेन। त्यसपछि साँझ ६ बजेर ५६ मिनेटमा पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिँदै भोलिपल्ट बिहान भेट्ने प्रस्ताव गरेका थिए।
उनले एक बिचौलियाको सम्पर्क नम्बरसमेत उपलब्ध गराएका थिए। बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए। सोही योजनाअनुसार रकम बुझाउने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पालमाथि भ्रष्टाचार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

