काठमाण्डौ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब रुपैयाँ नाघेको छ। आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा उच्च हुँदा व्यापार घाटा झन् फराकिलो बनेको छ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च व्यापार रकम हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबर थियो।
समीक्षा अवधिमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो।
आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब चार अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो।
यसैगरी, गत आर्थिक वर्षमा नेपालको निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
आयातको वृद्धिदर निर्यातको तुलनामा उच्च रहेपछि नेपालको व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा व्यापार घाटा १७ खर्ब ८१ अर्ब आठ करोड ८५ लाख रुपैयाँ पुगेको विभागको तथ्यांक छ।
अघिल्लो आर्थिक वर्षमा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रुपैयाँ रहेको थियो।
आयात–निर्यात अनुपात पनि ६.५१ बाट बढेर ६.६५ पुगेको छ। यसको अर्थ नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ। आयातको हिस्सा भने ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ।
निर्यातमा सुधार देखिए पनि आयातमाथिको उच्च निर्भरताका कारण नेपालको व्यापार असन्तुलन र घाटाको दबाब कायमै रहेको तथ्यांकले देखाएको छ।

