काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा देखिएको ढिलासुस्तीका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। परीक्षा सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरूले साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्न माग गरेका छन्।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत तीनवर्षे बीए प्रथम वर्षको २०८१ सालतर्फको आंशिक परीक्षा २०८२ सालभित्रै सम्पन्न हुनुपर्ने थियो। तर त्रिविले उक्त परीक्षा २०८३ सालको जेठमा मात्रै सञ्चालन गरेको थियो।
परीक्षार्थीहरूले २०८२ सालको भदौ र कात्तिकमै परीक्षा फारम भरेका थिए। फारम भरेको करिब नौ महिनापछि मात्रै परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८३ वैशाख ३ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो। परीक्षा जेठ १८ गतेदेखि सुरु भई जेठ २७ गते सम्पन्न भएको थियो।
उक्त परीक्षामा आंशिक र मौका समूहका गरी कुल २ हजार ४३० परीक्षार्थी सहभागी थिए। दुवै समूहको परीक्षा एउटै मिति, समय र प्रणालीअनुसार सञ्चालन भए पनि परीक्षा नियन्त्रण कार्यालयले यसलाई मौका परीक्षाका रूपमा मात्र व्याख्या गरेर जिम्मेवारीबाट पन्छिन खोजेको विद्यार्थीको आरोप छ।
विद्यार्थी उत्सव खड्काले फारम भर्नेदेखि परीक्षा सञ्चालनसम्म विश्वविद्यालयले गरेको ढिलाइलाई बेवास्ता गरेर नतिजाका लागि पुनः ९० दिनको समय लिन नमिल्ने बताए।
परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले भने आंशिक र मौका परीक्षाको चाप बढी भएकाले साउनमा सम्भव नभए भदौसम्म नतिजा सार्वजनिक हुन सक्ने बताएका छन्।
विद्यार्थीहरूले भने परीक्षा नियन्त्रण कार्यालयले यसअघि गुमाएको समय विद्यार्थीमाथि थोपर्न नमिल्ने बताएका छन्। विद्यार्थी योगराज दाहालले त्रिविको ढिलासुस्तीमाथि व्यङ्ग्य गर्दै फारम भरेको समयमा सुरु भएको परिवारमा सन्तानसमेत जन्मिएर दुई महिनाको भइसक्दा विद्यार्थीले नतिजा देख्न नपाएको बताए।
“उता एउटा पुस्ता जन्मियो, यता त्रिविको नतिजा अझै गर्भमै छ,” उनले कटाक्ष गरे।
नतिजा नआउँदा एक वा दुई विषय मात्रै बाँकी रहेका विद्यार्थी स्नातकोत्तर तह, तीनवर्षे एलएलबी प्रवेश परीक्षा तथा अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रममा आवेदन दिनबाट वञ्चित भएका छन्।
विद्यार्थीहरूले सामान्य आश्वासनको सट्टा नतिजा प्रकाशनको निश्चित मिति सार्वजनिक गर्न माग गरेका छन्। उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि, रुजु प्रक्रिया र नतिजा प्रकाशनको सम्भावित मिति समेटिएको पारदर्शी कार्यतालिका जारी गर्नुपर्ने उनीहरूको माग छ।
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवले बीए प्रथम वर्षको नतिजालाई विशेष प्राथमिकतामा राखेर तत्काल सार्वजनिक गर्नुपर्ने बताए।
“परीक्षा नियन्त्रण कार्यालय विद्यार्थीको समय थन्क्याउने ठाउँ होइन,” उनले भने, “२४ सय ३० विद्यार्थीको नतिजा प्रकाशित गर्न ४५ दिनभन्दा बढी लाग्नुले परीक्षा व्यवस्थापन प्रणालीको कमजोरी प्रस्ट देखाउँछ।”
विद्यार्थीहरूले साउन १५ गतेभित्र नतिजा सार्वजनिक नगरे त्रिविविरुद्ध थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्।

