बिहीबार, श्रावण ७,२०८३ 10:49:24
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 10:49:24
Bizshala
Global IME Bank Limited

२५ हजार भारुसम्म नेपाल ल्याउन पाइने, राष्ट्र बैंकले खोल्यो २०० र ५०० दरका नोटको बाटो

२५ हजार भारुसम्म नेपाल ल्याउन पाइने, राष्ट्र बैंकले खोल्यो २०० र ५०० दरका नोटको बाटो
New Office

काठमाडौं। नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँका २०० र ५०० दरका नोट नेपाल भित्र्याउन तथा सटही गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ‘एकीकृत परिपत्र–२०८२’ संशोधन गर्दै भारतीय नोटको कारोबारसम्बन्धी व्यवस्था खुकुलो बनाएको हो।

नयाँ व्यवस्थाअनुसार नेपाली वा भारतीय नागरिकले भारतबाट नेपाल आउँदा प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्मका २०० र ५०० दरका नोट साथमा ल्याउन पाउनेछन्। त्यस्ता नोट प्रचलित व्यवस्थाबमोजिम सटही तथा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो व्यवस्था सन् २०१६ नोभेम्बर ९ पछि भारतीय रिजर्भ बैंकबाट निष्कासन भई चलनचल्तीमा रहेका २०० र ५०० दरका नोटमा मात्र लागू हुनेछ।

यसअघि भारत सरकारले पुराना ५०० र एक हजार दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा ठूला दरका भारतीय नोटको प्रयोग तथा ओसारपसारमा कडाइ गरिएको थियो। राष्ट्र बैंकले यसअघि जारी गरेको व्यवस्थालाई संशोधन गर्दै औपचारिक रूपमा नयाँ नोट ल्याउने सीमा तोकेको हो।

संशोधित व्यवस्थाअनुसार भारतीय रुपैयाँ एक सय र सोभन्दा कम दरका नोट तथा मुद्रा भने प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिनेछ।

तर नेपाली नागरिकले भारतीय रुपैयाँ भारतबाहेक अन्य मुलुकमा लैजान वा तेस्रो मुलुकबाट नेपाल ल्याउन भने पाउने छैनन्। यसको अर्थ २५ हजार भारुसम्म ल्याउन पाउने सुविधा भारतबाट नेपाल प्रवेश गर्दा मात्र लागू हुनेछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्था तथा सम्बन्धित निकायलाई संशोधित व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको सूचनामा यसअघि नगद विदेशी मुद्रा नेपाल भित्र्याउने तथा नेपालबाट बाहिर लैजानेसम्बन्धी जारी सूचना खारेज गरिएकोसमेत जनाएको छ।

राष्ट्र बैंकको पछिल्लो निर्णयले भारत भ्रमण, उपचार, अध्ययन तथा साना व्यावसायिक कारोबारबाट फर्किने नेपालीलाई भारतीय रुपैयाँ साथमा ल्याउन सहज बनाउने अपेक्षा गरिएको छ। यससँगै लामो समयदेखि अन्योलमा रहेको नयाँ ५०० दरको भारतीय नोटको नेपालमा वैधानिक प्रयोगसम्बन्धी विषय पनि स्पष्ट भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.