शनिबार, श्रावण ९,२०८३ 09:07:32
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:07:32
Bizshala
Global IME Bank Limited

सानिमा क्यापिटलकी ‘प्रवक्ता’ कारभित्र मृत भेटिइन्, रहस्यमय घटनाको अनुसन्धानमा प्रहरी

सानिमा क्यापिटलकी ‘प्रवक्ता’ कारभित्र मृत भेटिइन्, रहस्यमय घटनाको अनुसन्धानमा प्रहरी
New Office

काठमाडौँ । तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन्। मृतक सानिमा क्यापिटल लिमिटेडमा ‘प्रवक्ता तथा कम्प्लायन्स अफिसर’ का रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ।

तारकेश्वर नगरपालिका–९ स्थित शुभकामना चोककी रिजाल शनिबार दिउँसो तारकेश्वर–१ को कालेबासे क्षेत्रमा मृत भेटिएकी हुन्। कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रनजिक पार्किङ गरिएको बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

पारिवारिक स्रोतका अनुसार रिजाल साउन ८ गते बिहान करिब ७ बजेदेखि परिवार तथा आफन्तको सम्पर्कमा थिइनन्। त्यसपछि उनको खोजी भइरहेको अवस्थामा शनिबार दिउँसो करिब १ बजे कारभित्र शव फेला परेको हो।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित गरी आवश्यक प्रमाण संकलन गर्नुका साथै कारको अवस्थासमेत सूक्ष्म रूपमा अध्ययन गरिरहेको छ।

प्रहरीका अनुसार शवमा आगोले क्षति पुगेको देखिए पनि घटना दुर्घटना हो वा अन्य कुनै कारणसँग जोडिएको छ भन्ने विषय अहिल्यै निष्कर्षमा पुग्न सकिने अवस्था छैन। घटनास्थलको अवस्था, रिजालको पछिल्लो सम्पर्क, यात्राको विवरण र उपलब्ध प्राविधिक प्रमाणलाई आधार बनाएर अनुसन्धान अगाडि बढाइएको छ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अन्य अनुसन्धानबाट मात्रै घटनाको वास्तविक प्रकृति खुल्ने प्रहरीले जनाएको छ।

एसपी भट्टराईका अनुसार घटनासँग सम्बन्धित सबै सम्भावित पक्षमाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। प्रहरीले आधिकारिक अनुसन्धान पूरा नहुँदासम्म घटनाका विषयमा अनुमान वा अपुष्ट विवरण प्रसार नगर्नसमेत आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.