काठमाण्डौ । २०२६ फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शनपछि चर्चामा आएका केप भर्डे राष्ट्रिय फुटबल टोलीका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको प्रतिष्ठित क्लब कोलो–कोलोमा आबद्ध हुने भएका छन्।
पत्रकार तथा फुटबल ट्रान्सफर विशेषज्ञ फाब्रिजियो रोमानोका अनुसार दुवै पक्षबीच मौखिक सहमति भइसकेको छ। अब आवश्यक कागजी प्रक्रिया पूरा भएपछि सम्झौतामा हस्ताक्षर हुने र त्यसपछि भोजिन्हाले मेडिकल परीक्षण गर्नेछन्। उनी चिलीमा नयाँ अध्याय सुरु गर्न तयार रहेको जनाइएको छ।
यसअघि कोलो–कोलोले क्लब अध्यक्ष अनिबाल मोसाको पहलमा ४० वर्षीय गोलरक्षकसँग वार्ता अघि बढाएको थियो। अमेरिकी क्लब इन्टर मियामी पनि उनलाई अनुबन्ध गर्ने दौडमा रहेको बताइएको थियो।
भोजिन्हाले २०२६ विश्वकपमा केप भर्डेका लागि चार खेल खेल्दै दुई खेलमा क्लिन–सिट राखेका थिए। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई पहिलोपटक विश्वकपको नकआउट चरणसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो। केप भर्डे अन्ततः अन्तिम ३२ मा अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको उनको सम्झौता यसै गर्मीयाममा सकिएको थियो। क्लबले सम्झौता नवीकरण नगरेपछि उनी स्वतन्त्र खेलाडी बनेका थिए।
जोसिमार जोजे एभोरा डायस (भोजिन्हा) ले यसअघि मोल्डोभाको जिम्ब्रु चिसिनाउ, साइप्रसको एईएल लिमासोल, स्लोभाकियाको ट्रेन्चिन तथा पोर्चुगलको गिल भिसेन्टेबाट पनि व्यावसायिक फुटबल खेलेका छन्।
विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघले सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीको सूचीमा भोजिन्हा सातौँ स्थानमा परेका थिए। उक्त सूचीमा पहिलो स्थानमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी रहेका थिए।

