काठमाण्डौ । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। राजधानी काठमाण्डौलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख प्रवेशमार्गमा निर्माण गरिएको यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो रहेको छ। आधुनिक प्रविधिबाट निर्माण गरिएको यस सुरुङमार्गले नागढुङ्गा क्षेत्रमा वर्षौंदेखि हुने सवारी जाम कम गर्नुका साथै काडमाण्डौ–तराई आवागमनलाई थप सुरक्षित, सहज र छिटो बनाउने अपेक्षा गरिएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी प्रवेश गर्ने प्रमुख नाकामध्ये एक नागढुङ्गा खण्डको यात्रा समय घट्नुका साथै इन्धन खपत, सवारी सञ्चालन लागत र प्रदूषणसमेत कम हुने विश्वास गरिएको छ। यसले विशेषगरी मालवाहक तथा लामो दूरीका सवारीसाधनलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा छ।

