काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा लगातार दुई खेल गुमाएपछि नेपाललाई शीर्ष चारमा रहेर विश्वकप छनोट प्रतियोगिता सिधै खेल्ने लक्ष्य पूरा गर्न कठिन भएको छ।
नामिबिया र आयोजक नेदरल्यान्ड्ससँग पराजित भएको नेपाल दुवै खेलमा समान १५७ रनमै अलआउट भएको थियो। विदेशी मैदानमा ब्याटिङक्रम लगातार असफल भएपछि नेपाल अंकतालिकामा थप दबाबमा परेको हो।
नेपालले लिग–२ मा हालसम्म ३० खेलबाट २४ अंक जोडेको छ। प्रत्येक टोलीले कुल ३६ खेल खेल्ने प्रावधानअनुसार नेपालका अब ६ खेल मात्र बाँकी छन्।
नेपालले बाँकी सबै खेल जिते अधिकतम ३६ अंक पुर्याउन सक्छ। तर त्यति गर्दा पनि शीर्ष चारमा प्रवेश गर्न अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने अवस्था बनेको छ।
हाल अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्डको समान ३२ खेलबाट ३८ अंक छ। नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो र ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छन्।
क्यानडाले २८ खेलबाट र नामिबियाले ३० खेलबाट नेपालकै समान २४ अंक जोडेका छन्। यी टोलीसँग नेपालभन्दा धेरै खेल बाँकी भएकाले शीर्ष चारको प्रतिस्पर्धा अझ चुनौतीपूर्ण बनेको छ।
नेपालले जारी शृङ्खलामा नेदरल्यान्ड्स र नामिबियासँग एक–एक खेल खेल्न बाँकी छ। त्यसपछि अन्तिम शृङ्खलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ। अबका हरेक खेलमा जित निकाल्न नसके नेपालको सिधै विश्वकप छनोट खेल्ने सम्भावना लगभग समाप्त हुन सक्छ।
ब्याटिङमै गहिरो संकट
नेपालको कमजोर अवस्थाको मुख्य कारण ब्याटिङ बनेको छ। जारी शृङ्खलाका दुवै खेलमा नेपाल १५७ रनभन्दा माथि जान सकेन।
नामिबियाविरुद्ध कप्तान रोहित पौडेलले ३१ र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए पनि अन्य ब्याटरले जिम्मेवारीपूर्ण प्रदर्शन गर्न सकेनन्।
नेदरल्यान्ड्सविरुद्ध आरिफ शेखले ९० बलमा ४१ रन र गुल्शन झाले २९ रन बनाए। तर ठूलो साझेदारी बन्न नसक्दा नेपाल फेरि समान योगफलमै समेटियो।
नेपालको शीर्षक्रम दुवै खेलमा असफल रह्यो। कुशल भुर्तेलले क्रमशः २ र ९ रन, आसिफ शेखले १६ र १४ रन तथा इशान पाण्डेले ८ र ४ रन मात्र जोड्न सके।
ओपनरबाट राम्रो सुरुवात नपाउँदा मध्यक्रममाथि अत्यधिक दबाब परेको छ। लामो इनिङ खेल्ने र ठूलो साझेदारी निर्माण गर्ने क्षमतामा सुधार नआएसम्म नेपाललाई बाँकी खेलमा नतिजा निकाल्न कठिन हुने देखिएको छ।
बलिङको संघर्षलाई ब्याटिङको साथ मिलेन
नेदरल्यान्ड्सविरुद्ध १५८ रनको सानो लक्ष्य रक्षा गर्ने क्रममा नेपाली बलरले सुरुवातमा राम्रो प्रदर्शन गरेका थिए। घरेलु टोलीलाई ७४ रनमा चार विकेट गुमाउने अवस्थामा पुर्याए पनि त्यसपछि नेपालले खेलमा नियन्त्रण कायम राख्न सकेन।
पाँचौँ विकेटका लागि बनेको अविजित साझेदारीपछि नेदरल्यान्ड्सले ६ विकेटको जित निकाल्यो।
कम योगफलका कारण बलरमाथि हरेक खेलमा अतिरिक्त दबाब पर्दै आएको छ। विपक्षीलाई चुनौती दिन कम्तीमा प्रतिस्पर्धात्मक योगफल आवश्यक भए पनि नेपाली ब्याटिङले त्यसअनुसार प्रदर्शन गर्न सकेको छैन।
शीर्ष चारमा नपरे के हुन्छ?
लिग–२ समाप्त हुँदा शीर्ष चारमा रहने टोलीले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्नेछन्। ती टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासमेत स्वतः सुरक्षित हुनेछ।
शीर्ष चारबाहिर रहेका टोलीले विश्वकप च्यालेन्ज लिगबाट आएका चार टोलीसँग प्लेअफ प्रतियोगिता खेल्नुपर्नेछ। प्लेअफबाट शीर्ष चारमा रहने टोलीले मात्र विश्वकप छनोटमा स्थान बनाउने भएकाले त्यो बाटो थप लामो र कठिन हुनेछ।
अघिल्लो लिग–२ मा अन्तिम चरणमा शानदार पुनरागमन गर्दै शीर्ष चारमा पुगेको नेपाल यसपटक भने सुरुदेखि नै दबाबमा छ। बाँकी खेलमा ब्याटिङ सुधार्दै लगातार जित निकाल्न नसके नेपाल विश्वकप छनोटको सिधा बाटोबाट बाहिरिने खतरा बढेको छ।

