काठमाण्डौ। खराब प्रदर्शनका कारण लगातार दुई खेलमा पराजय व्यहोरेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।
नेदरल्यान्ड्सको उत्रेख्तमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। यसअघि लगातार दुई खेलमा कमजोर प्रदर्शन गरेको नेपालका लागि आजको खेल शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्न निकै महत्वपूर्ण बनेको छ।
नेपालले यस सिरिजका अघिल्ला दुवै खेलमा १५७ रनको लक्ष्य दिए पनि त्यसको रक्षा गर्न सकेन। नामिबियासँग ८ विकेटले र नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि नेपालको प्रत्यक्ष छनोट यात्रा थप कठिन बनेको छ।
लिग–२ को अंक तालिकामा नेपाल र नामिबिया दुवै ३० खेलबाट २४ अंकसहित तल्लो स्थानतर्फ छन्। शीर्ष चारमा स्थान सुरक्षित गर्न नेपाललाई अब बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ।
आज नामिबियाविरुद्धको खेल जित्नुका साथै बुधबार नेदरल्यान्ड्सविरुद्ध हुने चौथो खेलमा पनि जित निकाल्न सके मात्र नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बलियो बन्नेछ।
ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधार आवश्यक देखिएको नेपालले अबका खेलमा गल्ती सुधार गर्दै महत्वपूर्ण अंक जोड्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।