काठमाण्डौ । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित राजस्व लक्ष्य पूरा गर्न सकेन। कार्यालयले भन्सार विभागले तोकेको लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।
भन्सार विभागले गत आर्थिक वर्षका लागि गड्डाचौकी भन्सारलाई ६९ करोड २ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो। तर कार्यालयले ६० करोड ९ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार राजस्व संकलन लक्ष्यभन्दा करिब १३ प्रतिशत कम भए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने केही वृद्धि भएको छ। आर्थिक वर्ष २०८१÷८२ मा गड्डाचौकी भन्सारले ५९ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व भन्सार महसुल आयात र मूल्य अभिवृद्धि करबाट संकलन भएको छ। कार्यालयका अनुसार भन्सार महसुलतर्फ ३२ करोड ७९ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करतर्फ २३ करोड ३२ लाख ४६ हजार रुपैयाँ राजस्व उठेको छ।
त्यस्तै, अन्तःशुल्क आयातबाट १ करोड ५८ लाख ७ हजार रुपैयाँ, कृषि सुधार शुल्कबाट १ करोड ४४ लाख ३६ हजार रुपैयाँ, आकस्मिक रूपमा प्राप्त हुने लाभ करतर्फ १३ लाख ६९ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।
यसैगरी सडक निर्माण तथा मर्मत दस्तुरबाट २९ लाख ३७ हजार रुपैयाँ, अन्य भन्सार आयबाट २५ लाख ९३ हजार रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट २० लाख २४ हजार रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट ५ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
वातावरण संरक्षणका लागि सवारीसाधन तथा वन्यवस्तुको हरित करतर्फ २ लाख १ हजार रुपैयाँ, स्वच्छ पूर्वाधार लगानी शुल्कबाट ६९ हजार रुपैयाँ र आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्धन शुल्कबाट ४ लाख ९३ हजार रुपैयाँ संकलन भएको भन्सार कार्यालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।