मंगलवार, श्रावण १२,२०८३ 09:03:53
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 09:03:53
Bizshala
Global IME Bank Limited

टी–२० विश्वकप २४ टोलीसम्म विस्तार गर्ने तयारीमा आईसीसी, दीर्घकालीन लक्ष्य ३२ राष्ट्र सहभागी गराउने

टी–२० विश्वकप २४ टोलीसम्म विस्तार गर्ने तयारीमा आईसीसी, दीर्घकालीन लक्ष्य ३२ राष्ट्र सहभागी गराउने
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्दै २४ टोली सहभागी गराउने तयारी अघि बढाएको छ। हाल २० टोली सहभागी हुँदै आएको प्रतियोगिता सन् २०३२ देखि २४ टोलीमा विस्तार गर्ने सम्भावना रहेको छ भने यो परिवर्तन सन् २०३० मै लागू हुन सक्ने चर्चा पनि भइरहेको छ।

आईसीसीको दीर्घकालीन लक्ष्य टी–२० विश्वकपलाई ३२ राष्ट्रसम्म विस्तार गर्दै क्रिकेटलाई विश्वव्यापी खेलका रूपमा स्थापित गर्नु रहेको बताइएको छ। यस विषयमा आईसीसीले विश्वभर क्रिकेटको विकास र नयाँ राष्ट्रहरूलाई अवसर प्रदान गर्ने रणनीतिमाथि छलफल गरिरहेको छ।

हालै सम्पन्न विश्वकपमा जिम्बाब्वेले अस्ट्रेलियालाई पराजित गर्नु, श्रीलंकामाथि प्रभावशाली प्रदर्शन गर्नु तथा नेपाल र इटालीले इंग्ल्याण्डलाई कडा चुनौती दिनुजस्ता नतिजाले उदीयमान टोलीहरूलाई थप अवसर दिनुपर्ने पक्षलाई बलियो बनाएको मानिएको छ। विशेषगरी नेपालले इंग्ल्याण्डसँग केवल चार रनको झिनो अन्तरले पराजय व्यहोरेपछि एसोसिएट राष्ट्रहरूको प्रतिस्पर्धात्मक क्षमता झन् स्पष्ट भएको विश्लेषण गरिएको छ।

सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी–२० विश्वकपको नयाँ ढाँचालाई पनि आगामी विस्तारको आधारका रूपमा हेरिएको छ। प्रस्तावित २४ टोलीको प्रतियोगितामा प्रारम्भिक चरणमा ६ समूह रहने, प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१२ मा प्रवेश गर्ने र त्यसपछि नकआउट चरण सञ्चालन हुने सम्भावना रहेको छ।

प्रतियोगिता विस्तार भएमा हालको टी–२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा युगान्डा, पपुवा न्यू गिनी, इटाली र हङकङले प्रत्यक्ष लाभ लिन सक्नेछन्। यससँगै अमेरिका, क्यानडा, नेपाल र नाइजेरियाजस्ता उदीयमान क्रिकेट राष्ट्रका लागि पनि विश्वकपमा स्थान बनाउने अवसर थप बढ्ने अपेक्षा गरिएको छ।

यता, आगामी एकदिवसीय विश्वकपको मुख्य चरणमा सहभागी टोलीको संख्या १४ बाट घटाएर १२ मा सीमित गर्ने आईसीसीको निर्णयले एसोसिएट राष्ट्रहरूबाट आलोचना खेपिरहेको छ। विश्व क्रिकेटर्स संघ (डब्लुसिए) ले समेत यस्तो निर्णयले विश्व क्रिकेट विस्तार गर्ने आईसीसीको घोषणासँग मेल नखाने टिप्पणी गरेको छ।

यसबीच, क्रिकेट सन् २०२८ को लस एन्जलस ओलम्पिकमार्फत १२८ वर्षपछि पुनः ओलम्पिकमा फर्किने भएकाले विश्वव्यापी रूपमा खेलको विस्तारमा थप गति आउने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.